आफ्नो शाख गुमाउदै त्रि.वि.
आफ्नो शाख गुमाउदै त्रि.वि.
Added: 2012 September 24
नरेश फुयांल । वि.सं. २०१५ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालकै जेठो विश्व विद्यालय हो । यूरोपमा भन्दा झण्डै ८ सय बर्ष पछि नेपालमा पहिलो पटक खुलेको त्रिवि आफैमा एउटा सिंङ्गो इतिहास हो ।

मुलुकभर रहेका सयौ आंगिक क्याम्पसबाट दर्जनौ विषयमा अध्यापन गराउँदै आएको स्वायत्त संस्था त्रिवि अहिले आफै समस्यामा छ । लाखौं विद्यार्थीको भविष्यमाथि प्रत्यक्ष सरोकार राख्ने त्रिवि यतिबेला आन्तरीक समस्यामा फसेको छ । 

तुलनात्मक रुपमा केही सस्तो मानिएको यो विश्वविद्यालयप्रती पछिल्ल्ला वर्षहरुमा अघिल्ला बर्षमा जस्तो आकर्षण छैन । अनपेक्षित रुपमा ढिलासुस्ति हुनु, प्राबिधिक शिक्षामा न्यून लगानी हुनु, राजनीतिको आधार स्थलमा परिणत हुनु तथा प्रवीणता प्रमाणपत्र तह फेज आउट हुनु त्रिविप्रति आकर्षण घट्नुको मुख्य कारण हुन् । 

प्रमाणतह हटाउने निर्णयसँगै गरिब तथा जेहेन्दार विद्यार्थीहरु सस्तो शिक्षा पाउने अधिकारबाट बञ्चित भएका छन् । बिद्यार्थी संगठनहरुको चर्को बिरोधका बिच प्रविणता प्रमाणपत्र तह खारेज गरेको त्रिविले बिस्तारै स्नातक तह पनि खारेज गर्दै जाने बताएको छ । यद्यपी त्यो तत्काल सम्भब नभएको उसले स्पष्ट पारेको छ । 

सन् १९९२ देखि दुईवर्षेबाट तीनवर्षे स्नातक बनाएको त्रिविले आगामी शैक्षिक सत्रदेखी अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै संकायको चारवर्षे स्नातक बनाउन लागेको छ । 

शैक्षिक गुणस्तर बढाउने भन्दै लगभग बर्षेनी जस्तो त्रिविले शुल्क वृद्धि गर्दै आएको छ । भौतिक पूर्वधारको उचित व्यवस्थापन नियमित अध्यापन, आन्तरिक परीक्षा गर्ने, क्याम्पसका नियमहरु कडाइका साथ कार्यान्वयन गर्ने, परीक्षा समयमै गर्ने, समयमै नतिजा प्रकाशन गर्ने उसले प्रतिबद्धता जनाए पनि त्यो केबल प्रतिबद्धतामै सिमित भएको छ । 

भागबण्डाको राजनीति र बिद्यार्थी संगठनहरुको चरम राजनीतिबाट उठ्नै नसक्ने गरी थिलथिलो भएको त्रिविले यती बेला आफैले बनाएको शैत्रिक क्यालेण्डर लागु गर्न सकेको छैन । कहिले शैक्षिक सत्र सुरु हुन्छ, कहिले परिक्षा हुन्छ र नतीजा प्रकाशन हुन्छ कुनै टुङ्गो छैन । कति महिना पढाई हुन्छ र एउटै शैक्षिक शत्रमा कति ब्याच हुन्छ त्यो पनि थाहा हुदैन । 

एउटै तहमा एउटै शैक्षिक शत्रमा दुई ओटा ब्याच सम्म त्रिबिले संचालन गर्दै आएको छ । यती मात्रै होइन नतीजा प्रकाशित गर्न ९ देखी ११ महिना सम्म लाग्छ त्रिबिलाई । तीन बर्षे स्नातक तहको कोर्ष सक्न कम्तीमा ४ देखी ५ बर्ष सम्म लाग्छ बिद्यार्थीलाई ।  यती मात्रै पनि कहा हो र नतीजा प्रकाशनमा त्रिबिको लापरबाही हेर्दा लाग्छ–त्यहॉका कर्मचारीले जे गरे पनि हुन्छ । उनीहरुलाई जे गर्न पनि छुट् छ । परिक्षा नदिएको बिषयमा पास हुनु, परिक्षा दिएको बिषयमा अनुपस्थिती देखिनु, परिक्षा रद्ध हुनु तथा अनपेक्षित नतीजा आउनु त सामान्य कुरा हो त्रिबिका लागी । 

प्रोविजनल, माइग्रेसन सर्टिफिकट लिन काठमाण्डौको बल्खुमै आउनु पर्ने बाध्यता बिद्यार्थीहरुले अझै झेलिरहनु परेको छ । देशको दूर–दराजको त्रिविको आंगिक क्याम्पसमा पढ्ने बिद्यार्थीलाई काठमाण्डौ आएर १५ दिन लगाएर सर्टिफिकेट बनाउन दशौ हजार खर्चिनु पर्छ । तर यस्तो ढिला सुस्ति र लापरबाहि अन्त्यका लागी अहिले सम्म कही कतैबाट पहल हुन सकेको छैन । 

यता बिद्यार्थी कै हकहितका लागी भन्दै कलेजमा सक्रिय राजनीतिक दल निकट बिद्यार्थी संगठनहरु बिद्यार्थीका लागी अनुकुल भन्दा पनि प्रतिकुल भएको बिद्यार्थी तथा अभिभाबकहरुले बताउन थालेका छन् । केन्द्रिय राजनीतिका लागी आधार भुमी तयार पार्ने पहिलो खुड्किलो त्रिविलाई वनाउदै कक्षा कोठामै चर्को राजनीतिक गरेर शैक्षिक बाताबरण बिथोल्ने संगठनहरुप्रती बिस्तारै बिद्यार्थी र अभिभावकको बितृष्णा पैदा हुदै गएको छ । 

बिद्यार्थीकै नाममा गरिने राजनीति आखिर उनीहरुकै लागी घातक हुदै छ भने त्यसको अब अन्त्य आबश्यक छ । भीसी, रेक्टर नियुक्तीमा हुने चरम भाग बण्डाले जर्जर बनेको त्रिभुबन बिश्वविद्यालयको गुणस्तर उकास्नका लागी यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै गिर्दो शाख उकास्न नसके यसको भविष्य संकटमा पर्ने निश्चित छ । 

त्रिविको स्नातक तहको नतिजा हेर्ने हो भने विशिष्ट श्रेणी वा प्रथम श्रेणीको त कुरै छाडौं, उत्तीर्ण हुने विद्यार्थी संख्या पनि निकै न्यून छ । स्नातक तहमा बर्सेनि ५–६ प्रतिशत मात्र उत्तीर्ण हुने गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयको यो नतिजाले उसले गुणस्तरीय शिक्षा दिन नसकेको पुष्टि गर्छ । पाठ्यक्रम र उचित मूल्यांकनको अभावमा गुज्रिरहेको त्रिभुवन विश्वद्यालयबाट उत्पादित विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा खरो प्रतिस्पर्धामा उत्रिन सक्छन् या सक्दैनन् यो अहिले मुख्य प्रश्न हो । 

त्यसैले बिश्वबिद्यालयहरुको भिडमा शिक्षित बरोजगार उत्पादन गर्ने शैक्षिक थलो भन्दा पनि आफुलाई प्रभावकारी बनाउदै आफ्नो छुट्टै अस्तित्व बनाउदै विगतको उ‘चो शाख गिर्न नदिन तत्काल त्रिविले आफ्नो बिगतको समिक्षा गर्दै बर्तमानमा भविष्यको सुन्दर खाका नकोरे इतिहासले धिक्कार्ने निश्चित छ ।
 
सम्बन्धित समाचारहरु