अलविदा सुशीला दि
अलविदा सुशीला दि
Added: 2012 February 02


रेडियो नाटकदेखि लिएर चलचित्रसम्म आफ्नो स्वरदेखि लिएर अभिनयसम्म उत्तिकै सशक्त अभिनय गर्न सक्ने कालजयी अभिनेत्री सुशीला रायमाझीको गतहप्ता निधन भएको छ । वास्तवमा भन्ने हो भने अभिनय जगतमा सुशीला रायमाझीको देन एउटा कालखण्डको नमेटिने अलौकिक प्रतिभाको रुपमा रहेको थियो र आज त्यो अभाव महसुस भएको छ । हुन त नेपालीहरुले जति प्रशंसा अथवा उक्त व्यक्तिको देनका बारेमा जति चर्चा गुथ्छन् बाँच्नुभन्दा मरेपछि त्यो गुणगान गाउने चलन बढी छ । सुशीला रायमाझीको सन्दर्भमा पनि यस्तै भइरहेको होला तर एउटा कुरो के सत्य हो भने ऊ जतिखेरसम्म जीवित रहन्छ उसको छाप, उसको सिर्जना, उसको प्रतिभा, उसको देन प्रत्यक्ष एवं परोक्ष रुपमा परिरहेकै हुन्छ । उसले गरेका कामहरुलाई सकारात्मक बाटोमा डो¥याउनका लागि सामान्य प्रतिक्रियाहरु लेखिए बोलिए पनि एउटा प्रतिभावान् व्यक्तिका लागि भने यस्तो अवस्था कमै सिर्जित हुन्छ । २०३० सालमा रेडियो नेपाल छिरेर आफ्नो स्वरका माध्यमले अभिनय यात्रा प्रारम्भ गरेकी सुशीला रायमाझी चलचित्रहरुमा आइपुग्दा चाहे सकारात्मक होस् वा चाहे नकारात्मक होस् । सबै भूमिकामा आफूलाई सशक्त रुपले उभ्याउन सफल भइन् । उनको निधन पक्कै पनि दुखदायी हो । तर उनी बाँच्दा उनलाई प्रशंसा गर्नेहरु त्यति भेटिएनन् होला । तर उनका आम स्रोता फ्यानहरु एवं दर्शक फ्यानहरु नभएका होइनन् । एउटा व्यक्ति सफल हुनुमा उसको प्रतिभाले एवं उसको प्रशंसाले काम गरेकै हुन्छ । यसैले सुशीला रायमाझीलाई जीवनपरन्त प्रशंसा गर्ने भएनन् भन्न सकिँदैन । उनलाई जीवनभर साथ दिएर उनको प्रतिभाको सदुपयोग गर्नेहरु पनि उनको प्रशंसकहरु नै हुन् ।
पक्कै पनि सुशीला रायमाझीको निधन त्यति सजिलो भएन । यसो कुनै पनि निधन सजिलोगरी हुँदैन । क्यान्सरले पीडित भइरहेकी सुशीला रायमाझीको वास्तविकता धेरैको सामु आउँदैआएन । केही समयअघिदेखि रोगले थलिएर बसेपछि उनलाई खोजी गरिएन भन्नेहरुसँग पनि असहमति जनाउन सकिन्छ । जुनरुपमा उनका बारेमा खोजी हुनुपथ्र्यो अथवा जुन रुपमा राष्ट्रले उनलाई सम्मान गर्नुपथ्र्यो अथवा उनको उपचार गर्नुपथ्र्यो त्यसो भएन होला । पारिवारिक रुपमा समेत उनलाई भेट्नै नदिने स्थिति सिर्जित गर्नु पनि आफैंमा केही रहस्यभित्र पनि पर्छ । उनको निधन भइसकेपछि पनि सम्बन्धित संघसंस्था एवं निकट मानिएका चलचित्रकर्मीहरुले आफूले गर्नुपर्ने कर्तव्य गर्न खोज्दा उनलाई भेट्दै दिन नहुने वा नपर्ने जुन रुपमा अवस्था सिर्जना गरियो त्यो पक्कै पनि मर्मस्पर्शी छ । निधनका अवस्था जे जस्तो भए पनि यो निधन सामान्य व्यक्तिको निधन नभएर चलचित्र क्षेत्रमा कार्यरत एक सशक्त अभिनेत्रीको निधन हो भन्ने कुरामा पक्कै पनि हामी सबै सहमत छौं ।
२०३० सालमा रेडियो नेपालबाट प्रवेश गरेर उनले आफ्नो आवाजलाई रेडियोका माध्यमले स्रोताहरुसमक्ष पु¥याइन् होला । आवाजका माध्यमले विषयवस्तुमाथिको अभिनय त्यति सहज छैन । त्यस्ता असहज अभिनयलाई पनि सजिलै आत्मसात गर्न सक्ने अभिनेत्री सुशीला रायमाझीले २०३४ सालमा बनेको सिन्दुर चलचित्रबाट अभिनययात्रा समेत प्रारम्भ गरेकी थिइन् । सिन्दुरमा उनको भूमिका सामान्य एउटा डक्टरको थियो तर त्यही भूमिकाबाट आज पर्यन्त आइपुग्दा उनले आफूलाई फराकिलो क्षितिजमा अटाइन् । सांस्कृतिक केन्द्रको रुपमा परिचित राष्ट्रिय नाचघरमा समेत उनले काम गरिन् । नेपालमा टेलिभिजन स्थापना सँगसँगै सुरु भएको सामाजिक कथाको श्रृंखलामा आफूलाई उभ्याइन् । रुपमतिमा उनले गरेको भूमिका त्यो पनि साह्रै छुच्चो भूमिका उनले अत्याधिक सफलताका साथ गरिन् । जसका कारण उनलाई चिन्नेहरुको कमी भएन । उनले निकै राम्रा सफल मानिएका चलचित्रहरुमा पनि अभिनय गरिन् । पछिल्लो चरणमा उनले खेलेको म तिमीबिना मरिहाल्छु चलचित्रले उनलाई भूमिकाको विविधतामा अटायो । यतिमात्र होइन चलचित्रकर्मी एवं कलाकारहरुको हितका लागि पनि उनी लडिन् । कलाकार संघको कार्यसमितिमा बसेर यस क्षेत्रका लागि उनले काम गरिन् । कलाकार संघको सम्मानहरु पनि थापिन् । चलचित्र खेलिनन् मात्रै पिँजडा एवं धनसम्पती जस्ता चलचित्रहरु उनले निर्माण समेत गरिन् । आफ्नो छोरी प्रशिद्धिका रायमाझीलाई समेत अभिनेत्री बनाएर यस क्षेत्रमा ल्याइन् । यो सबै कर्म उनको चलचित्र कर्म थियो । चलचित्र उद्योगले उनलाई के दियो थाहा छैन, तर आज आम स्रोता एवं दर्शकहरुको आँखामा सफल अभिनेत्रीको परिचय बोकेर उनी संसारबाट विदा भइन् । निधन जहिले पनि मर्मस्पर्शी हुन्छ । केही रहस्यमय कारणले भने उनको निधनमा भावविभोर भएर आँसु चुहाउने चलचित्रकर्मीहरुसमेत अत्यष्टिमा सहभागी हुन पाएनन् । भलै यो क्रिया एउटा निर्जिव शरीरमाथि साक्षातकारको क्रिया होला, तर उनको अभिनयले, उनको आवाजले भोली भोलीसम्म पनि सबैलाई सुशीला रायमाझी एउटा सफल अभिनेत्रीको सफल श्रेणीको कहिल्यै नथाक्ने अनवरत चलचित्र यात्रीको रुपमा नेपाली चलचित्र उद्योग अमिट छाप बसेर रहनेछिन् । अलविदा सुशीला रायमाझी ।

 शान्तिप्रिय

सम्बन्धित समाचारहरु