शव्द चित्रमा किसुनजी
शव्द चित्रमा किसुनजी
Added: 2012 December 23

नरेश फुयांल । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराइले आफ्नो पुरै जीवन राजनीतिक आरोह अवरोहमा विताएका कृष्णप्रसाद भट्टराई मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत संघर्षको पर्याय नै वने । आफ्नो जीवनमा अनगिन्ती घात, प्रतिघातहरु खेपे पनि उनले प्रजातन्त्रप्रतिको निष्ठामा कहिल्यै आँच आउन दिएनन् ।
नेपाली राजनीतिका शिखर पुरुष एवं सन्त नेताका रुपमा परिचित भट्टराईको जन्म भारतको वनारसमा भएको थियो । भट्टराईको बाल्यकाल, शिक्षा र राजनीति समेत वनारशबाटै सुरु भएको थियो । बाबु संकटाप्रसादका दुई श्रीमतीबाट ४ छोरा र ५ छोरी मध्ये स्वर्गिय भट्टराई आमा ललिताका सन्तान हुन् । उनलाई माया गरेर बोलाउने नाम किशुनजी थियो । 
प्रजातान्त्रिक आन्दोलनमा होमिएका संकटाप्रसादका चार छोरा मध्ये कान्छ कृष्णप्रसाद नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा हुन पुगे । १८ बर्षको विद्यार्थी उमेर देखिनै  भट्टराई सक्रिय राजनीतिमा होमिएका थिए ।  विद्यार्थी कालदेखिनै किसनुजीको नामबाट चिनिएका भट्टराई १९४२ को भारतको स्वाधिनता आन्दोलनमा प्रत्यक्ष भाग लिएपछि सक्रिय राजनीतिको जीवन सुरु भएको हो । त्यस आन्दोलनमा  भाग लिएका कारण उनलाई तत्कालिन अंग्रेज शासकले एक महिनाको जेल सजाय समेत दिएको थियो ।
वनाराशमा स्नातक गरेर  एम ए को अध्ययन गर्दागर्दै वीपी संग सन् १९४६ अगष्टमा भेट भएपछि  विश्वविद्यालय अध्ययनका क्रममा उनी  नेपाली छात्रा संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी कांग्रेसको सचिव समेत बनेका थिए ।
सन् १९४७ को जनवरी २५ मा कोलकोत्तामा उद्घाटन भएको नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्रीमा चुनिएका भट्टराई २००६ साल भदौ २६ र २७ गते भारतको विहारमा विशेष अधिवेशनबाट प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय लिइएपछि त्यसको नेतृत्वको जिम्मा  लिएका थिए ।
भट्टराई र रुद्र गिरी नेतृत्वको मुक्ती सेनाले २००६ माघमा उदयपुरगढी, केही समय पछि उनकै नेतृत्वमा जनकपुर, महोत्तरी क्षेत्रपनि कव्जामा लिएको थियो ।
२००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्तीपछि राजा त्रिभूवनले शाही घोषणा मार्फत उनलाई विधान निर्माण गर्नका लागि गठीत ३५ सदस्यीय विधान सल्लाहकार सभाको अध्यक्ष बनाइएका थियो । 
प्रखर बौद्धिकता र कुटनीतिक क्षमता एवं सुझबुझ भएका नेता भट्टराईले तत्कालीन संसदीय शासन व्यवस्थामा कुशल नेतृत्व प्रदान गरेका थिए । २०१७ साल पुस १ गते  तरुण दलको सभा हुँदाहुँदै वीपी कोइरालासंगै अधिवेशनस्थल राजधानीको त्रिपुरेश्वरबाट पक्राउ परेका उनी त्यसपछि निरन्तर दश बर्ष जेल बसे ।
स्वर्गिय गिरिजाप्रसाद कोइरालाले जेलबाट निस्कन तत्कालिन शासकसंग कागज गरे पनि भट्टराईले कागज गराउन नमान्दा थप दुई बर्षको जेल बस्नु पर्‍यो । उनी थप दुई बर्ष जेल बस्न राजी भए तर, कागज गरेनन्, राणासंग झुकेनन् । प्रजातन्त्र स्थापना र पुर्नस्थापनाको अवधिमा सघर्ष गर्दा उनले  आफ्नो जीवनमा १४ बर्ष भन्दा बढी जेल जीवन विताए ।
कसैलाई राजनीतिको प्रेरणाको श्रोत नबनाएको बताउने भट्टराई महात्मागान्धी, नेपोलियन, वीपी र गणेशमानका विचारले अलिअलि प्रभाव पारेको बताउथे । 
बि.सं.२०१२ देखि २०१४ को सत्याग्रहमा नेतृत्वदायी सक्रियता देखाएका भट्टराईको परिचय राजनीतिज्ञ, समाजवादी चिन्तक, विधायक,  पत्रकार र  लेखकको रुपमा समेत रह्यो ।
नेपाल पत्रकार महासंघको पहिलो सभापति उनी २००७ सालमा प्रजातन्त्र स्थापनापछि वनाराशबाट निस्केको युगवाणी साप्ताहिक र नेपाल पुकारका सम्पादक समेत हुन् ।
२०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याई सरकार गठन गरेपछि भट्टराई प्रतिनिधि सभाको पहिलो सभामुख बने । २०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उदघाटन गरेका भट्टराईले २०३४  मा सम्पन्न पटना सम्मेलनमा वीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यबाहक सभापति बनाएका थिए ।
वीपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुन: कार्यबाहक सभापतिमा चुनिए । कार्यबाहक सभापतिकै रुपमा भट्टराईले डेढ दशक पार्टी नेतृत्व गरे । पार्टीको आठौ महाधिवेशन २०४८ को कलबलबुढी झापाले सर्वसम्मतबाट सभापतिमा निर्वाचित गरे पछि उनी २०५३ सम्म सभापतिको पदमा रहे ।
उनकै सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह र २०४६ को जनआन्दोलनको घोषणा भएको थियो । प्रजातन्त्र पुर्नस्थापना भएपछि उनी पहिलो अन्तरिम सरकारको प्रधानमन्त्री बनेर अन्तरिम संक्रमणकालिन विकट परिस्थितलाई सफलताका साथ सम्हाले ।  भट्टटराईले एक बर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर संवैधानिक राजा र जनताद्धारा आफूलाई सुम्पिएको काममा सफलता पाए । आफू पराजित भएर पनि निर्वाचन निष्पक्ष बनाउने उनको भूमिका अनुकरणीय थियो । 
२०१५ मा गोर्खाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचनमा उनी पराजित भए ।  पराजयको ऐतिहासिक पुष्ठभूमिलाई लिएर कांग्रेस कार्यकर्ताहरु ‘भट्टराइ मनिटर’मा निर्वाचन नजितेको भनेर चर्चा गर्दथे ।
उनले २०५६ को आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट पहिलोपटक चुनाव जिते । त्यतिबेला उनलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर पार्टी निर्वाचनमा होमिएको थियो । पार्टीले बहुमत ल्याएपछि उहा दोश्रोपटक प्रधानमन्त्री बने ।  तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्धन्द र कलहका कारण एक बर्ष नपुग्दै  गिरिजा प्रसाद कोईरालाले भट्टराईलाई पद त्याग गर्न बाध्य पारे ।
स्थापनाकालदेखिनै वीपी, सुवर्ण शमशेर र गणेशमान सिंह तीनैजना नेताहरुसंग समान रुपले काम गरेका भट्टराइले अहिसात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका थिए । 
पार्टीको आन्तरिक कलहका वीच २०५८ मा शेरवहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएपछि भट्टराई सवैभन्दा बढी दु:खित वनेका थिए । पार्टी विभाजनपछि नै उनले सक्रिय राजनीतिबाट विस्तारै विश्राम लिएका हुन् ।
तत्कालिन राजा ज्ञानेन्द्रले सम्पुर्ण शासन सत्ता हातमा लिएपछि पार्टीले गणतन्त्रको लाईन पास गर्यो । उक्त निर्णय मन नपरेपछि उनी पार्टीका गतिविधिमा समेत सामेल हुन छाडेका थिए । प्रजातान्त्रिक आन्दोलनका लागि राजाहरुबाटै कठोर यातना पाएका भट्टराईले मृत्यु पर्यन्त संवैधानिक राजतन्त्रको आफ्ने विचार त्यागेनन् । मुलुक गणतन्त्रमा गईसकेपछि पनि उनले भने संवैधानिक राजतन्त्रकै वकालत गरिरहे  । जुन विचारका कारण उनी पार्टीको मुलप्रवाहबाट एक्लिन पुगे ।
भट्टराई विभिन्न समयमा आफ्ना अभिव्यक्तिमार्फत चर्चा र विवादमा पनि तानिए ।
सक्रिय राजनीतिबाट मुक्त रही मौन बसेका भट्टराई आफ्ना सहयात्री नेपाली काांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानको तेह्र दिन पनि नबित्दै २०४७ सालको संविधान ब्युताउनुपर्छ भन्ने भनाई राख्दै चर्चामा आए । २०४७ सालको संविधान ब्युताउनुपर्ने अभिब्यक्तिको अर्थ संवैधानिक राजतन्त्र ब्युताउनुपर्छ भन्ने हो भन्दै उनको चौतर्फी आलोचना भयो । उनले जनआन्दोलन– ०६२–०६३ को उपलब्धी संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई ”आयातीत पोसाकको संज्ञा समेत दिए ।
कालीबाबा र पूर्वराजा ज्ञानेन्द्रकै कित्तामा उभिएर राजतन्त्र ब्युताउनुपर्ने भन्दै पूजाअर्चना गरेपछि भट्टराई झन गणतन्त्रवादीहरुको दृष्टिमा प्रतिगामी कित्तामा दरिन पुगे । उनको यस्तो भनाईलाई लिएर केही राजनीतिक बिष्लेषकहरुले यस्ता जनबिरोधी अभिब्यक्ति दिएर उनले आफ्ना मलामी घठाएको बिष्लेषण गरे । तर त्यो पछि गलत साबीत भयो भन्दा फरक पर्दैन । किनकी उनको सब यात्रामा मानब सागर नै उर्लिएको थियो । 
भट्टराईको राजतन्त्रमोहबारे कांग्रेस नेता प्रदीप गिरीले केहि वर्षअघि व्यक्त गरेका शब्दहरको सापटी लिने हो भने, ”किसुनजी खासमा भीडको मानसिकता हेरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने नेता होइनन् । अलोकप्रिय हुनुपरे पनि आफ्नो मूल्य–मान्यतामा कायम रहने विचित्रको स्वभाव थियो  किसुनजीमा ।” किसुनजीका वारेमा दुनियांले आफ्नो धारणा वदलीरहेपनि उनले भने आफ्नो धारणा कहिल्यै वदलेनन् ।
उनी कहिले ”म अविवाहित भए पनि कुमार होइन” भनेर चर्चामा आए भने कहिले ”आइमाई र मौसमको भर हुुदैन” भनेर विवादमा तानिए त कहिले ”म भारतमुखी हुँ” भनेर आलोचनाको पात्र समेत बने ।
ठट्टा गर्न रुचाउने ठट्टयौली स्वाभाबका भट्टराई अस्पतालको बेडमै बस्दा पनि ठट्टा गर्न कहिल्यै पछि परेनन् ।
बिरामि भएका बेला उनलाई भेट्न अस्पताल पुगेका तत्कालिन एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा बाबुराम भट्टराइसंग ठट्टा गर्दै उनले भनेका थिए— (तपाई पनि भट्टराई म पनि भट्टराई तर ठूलो भट्टराई चाही मै हु ।) त्यस्तै बिरामी भएका बेला उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका राष्ट्रपति डा रामबरणसंग पनि ठट्टा गर्दै जेरी ल्याईदिन भनेका थिए । 
पान नखाई नसक्ने पानका अम्मली भट्टराई संधै मध्यान्न न्यूुरोड पान खानका लागी स्वयम पुग्थे । उनको मुखमा प्राय हरेक क्षण पान चपाएको देख्न सकिन्थ्यो । चिकित्सकले पान नखान पटक पटक सल्लाहा दिएपनि उनले पान खान भने । छोड्न सकेनन् । उनी पानका यती सम्म अम्मली की त्यो नेपाल र नेपालीलाई मात्र थाहा थिएन । त्यो अहिलेको बिश्व शक्ति राष्ट्र भारतका तत्कालिन प्रधानमन्त्री अटलबिहारी वाजपेहीलाई पनि राम्रो जानकारी थियो ।
त्यसैले प्रधानमन्त्री हुदा उनले गरेको भारतभ्रमण क्रममा भारतीय प्रधानमन्त्री वाजपेहीले पानका अम्मली भट्टराईलाई पान राख्ने बट्टा उपहार दिएका थिए । तर, त्यो बट्टा चानचुने थिएन, सुनको बट्टा थियो ।
बट्टामा एकातिर पानको पात र अर्कोतिर मसला र सुपारी राख्ने कोठा थिए । तत्कालीन प्रधानमन्त्री भट्टराईले पानको बट्टा क्याबिनेट बैठकमै प्रस्तुत गरेका थिए ।  प्रधानमन्त्री निवासबाट सुराही र छाता लिएर फकिंर्दा उहाा करुण र सम्मानका पात्र बनेका थिए ।
उनले कहिल्यै नीजि सम्पत्ती जोडेनन् । र जोड्न कसैलाई प्ररित पनि गरेनन् । सधैभरी अभाबमै जीवन गुजोर उनले । तर, पनि अरुले दिएको आर्थीक सहयोगलाई कहिल्यै स्किार गरेनन् । सहरको कोलाहलभन्दा अलि पर गोदावरीस्थित सरकारी आश्रममा सहयोगी अमिता कपालीको स्याहार–सुसारका साथ पान चपाउदै, गीता पाठ गर्दै र आफ्ना सबै कर्म ईश्वरमा समपिर्त गर्दै बुढ्यौली जिवन बिताए ।
सन्त नेता भट्टराईले आफ्नो जीवनको उत्तरार्धमा “मेरो  म” नामक जीवन बृतान्त लेखे । जसले उनलाई चीनाउन थप सहयोग गरेको छ । तर बिडम्बना अहिले प्रकाशनमा आएको “मेरो  म” को सक्कली कपी नभएर नक्कली कपी भएको बताइएको छ ।
राजनीतिले जनविश्वास गुमाउँदै गएको वर्तमान समयमा राजनीतिमा त्याग, निस्वार्थ भावना तथा इमान्दारिताको पर्याय बनेका किसुनजी सबैका लागि पथ प्रदर्शक बनि रहुन हाम्रो सुभ कामना ।

सम्बन्धित समाचारहरु