रापती म्यूजिक अवार्ड– २०६९ मा गीतकार रमेश क्षितिजको “ क्षितिज” सर्वोत्कृष्ट
रापती म्यूजिक अवार्ड– २०६९ मा गीतकार रमेश क्षितिजको “ क्षितिज” सर्वोत्कृष्ट
Added: 2012 August 12

साउन २८, काठमाडौ । गीतकार एवं कवि रमेश क्षितिजको गीति एल्बम  “ क्षितिज” रापती म्युजिक अवार्ड– २०६९ मा सर्वोत्कृष्ट भएको छ ।
 
राष्ट्रिय नाचघर जमलमा शनिवार आयोजित अवार्ड वितरणसमारोहमा सुगम सङगीतमा सर्वोत्कृष्ट गीतिएल्बम, सर्वोत्कृष्ट शव्द र सर्वोत्कृष्ट सङगीत गरी तीनवटै विधामा “क्षतिज” को वर्चश्व रहेको हो ।  

समारोहमा रमेश क्षितिजको शव्दमा क्षितिज एल्वमको परेलीको वर्षातले बोलको सर्वोत्कृष्ट शव्दको वार्ड हात पार्यो भने सर्वोत्कृष्ट सङगीत पनि सोही गीतका लागि दाङका सङगीतकार सन्तोष श्रेष्ठले हात पारे ।

यसैगरि सुगम सङगीतर्फकै सर्वोत्कृष्ट गायकमा  सियोको टुप्पोले  बोलको गीतबाट शिशिर योगीले अवार्ड पाए भनेसुगम सङगीतकै सर्वोत्कृष्ट गायिकामा  भने के गर्नुपर्छ  बोलको गीतबाट रीता केसीले अवार्ड हात पारिन् । सर्वोत्कृष्ट सङगीत संयोजनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडितको  आव्हान  एल्बममा रहेको  मागेको छ माटोले बोलको गीतका लागि कृष्ण पुनले अवार्ड प्राप्त गरे ।
 
सर्वोत्कृष्ट लोकदोहोरी एल्बमका लागि करण न्यौपानेको  फूलकुमारी दिलकुमारी, सर्वोत्कृष्ट लोकदोहोरी गायिकामा क्याम्पस पढ्न आउने बोलको गीतबाट राधिका हमाल, सर्वोत्कृष्ट लोकदोहोरी गायकतर्फ कहाँ छौ लोकदोहोरी एल्बमबाट मेक्सम खातीले उत्कृष्ट भए भने सोही एल्बमबाट नरेश खातीले सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अवार्ड हात पारे । सर्वोत्कृष्ट लोकदोहोरी शव्दको अवार्ड भने  यै त होला माया भनेको  बोलबाट कृष्ण रेउलेले पाए ।

यसैगरी सर्वोत्कृष्ट पाश्र्वगायन (महिला)को अवार्ड सिम्पल सिम्पल कान्छीको बोलको गीतबाट माण्डवी त्रिपाठीले हात पारिन् । त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रय भावको गीतमा हिमालका कुरा गर बोलको गीतमा अर्जुन मिलनले अवार्ड हात पारे । सर्वोत्कृष्ट चलचित्र पाश्र्व गीतकारमा चलचित्र  गोर्खा पल्टनवाट बाध्यताले डोर्याएर  बोलको गीतका लागी भावेश भुमरीले अवार्ड पाए भने सर्वोत्कृष्ट चलचित्र पाश्र्व सङगीतमा चलचित्र  भैहाल्छ नि का  घुमाई घुमाई  बोलको गीतबाट गोविन्दमधुर आचार्यले अवार्ड जिते ।
 
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष)तर्फ नरेश रेग्मीले  कति माया गर्छ उसले  बोलको गीतको भिडीयोवाट अवार्ड हात पारे भने सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (महिला)मा कल्ले लाने हो बोलको गीतका लागि नायिका झरना थापाले अवार्ड हात पारिन् । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक  डिस्को डान्स बोलको गीतका लागि शेरबहादुर डीसीले अवार्ड हात पारेका थिए । सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड करण न्यौपानेले  फूलकुमारी दिलकुमारी का लागि हात पारेका थिए । एसएमएस च्वाइसमा झिमबहादुर वलीले अवार्ड हात पारेका थिए ।

चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष शान्तिप्रियको संयोजकत्वमा गठित कोमल वली र बीबी अनुरागी रहेको निर्णायक समिति र एसएमएसको आधारमा अवार्ड चयन गरिएको समाजका महासचिव शशी शर्मा मजगैंयाले जानकारी दिए । 

समाजका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा भएको अवार्ड वितरण समारोहमा वरिष्ठ कलाकर्मी हरिहर शर्मालाई स्रष्टा सम्मान, रापती समाज काठमाडौंका संस्थापक अध्यक्ष मित्रलाल पार्धेलाई रापती सामाजिक सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कारबाट चन्द्र शर्मा र यशोदा केसी, रापती साँस्कृति प्रतिभा पुरस्कारबाट संगीतकार सन्तोष श्रेष्ठ र भीम–नन्द स्मृति पुरस्कारबाट साहित्यकार कमलमणि देवकोटालाई पुरस्कृत गरिएको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी नेता लोकेन्द्र विष्ट मगर, शिवराज गौतम लगायतको उपस्थिति रहेको थियो । अवार्ड वितरण समारोहको प्रत्यक्ष प्रसारण सगरमाथा टिभी र राजधानीवाट स्टार एफ एम तथा राप्तीका एक दर्जन बढी एफएम रेडियोहरुले गरेका थिए । 

अवार्ड वितरण समारोहको सञ्चालन समाजका महासचिव मजगैंयाले गरेका थिए ।

 
सम्बन्धित समाचारहरु