रोयल्टी संकलन समाजमा प्रहरीको शासनपछि अब आर्मीको शासन लागू हुने
रोयल्टी संकलन समाजमा प्रहरीको शासनपछि अब आर्मीको शासन लागू हुने
Added: 2012 May 03

रोयल्टी संकलन समाजमा प्रहरीको शासनपछि अब आर्मीको शासन लागू हुने भएको छ । निवर्तमान अध्यक्ष श्रीपुरुष ढकाल अनुसन्धान प्रहरीबाट अवकाश प्राप्त हुन् भने अहिलेको निर्वाचनबाट विजय हासिल गरेका राजेन्द्र थापा आर्मीका अवकाश प्राप्त व्यक्ति हुन् ।
रोयल्टी संकलन समाजको पाँचौं साधरणसभाले राजेन्द्र थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । लामोसमयदेखि विवादित बन्दै आएको रोयल्टी संकलन समाजको चुनाव मंगलबार भने सम्पन्न हुन पुगेको छ । बैशाख १६ मा हुने भनिएको साधरणसभाले नयाँ कार्यसमित चयन गर्ने भनेपनि दुई तिहाइ बहुमत प्राप्त हुन नसकेपछि साधरणसभा नै स्थगित हुन पुगेको थियो । श्रीपुरुष ढकालको नेतृत्वमा रहेको रोयल्टी संकलन समाजलाई विभिन्न गुट र उपगुटका रुपमा प्रस्तुत हुँदै विवादित बनाउँदै आइएको भए पनि अन्ततः मंगलबार निर्वाचन सम्पन्न हुन पुगेको हो ।
निर्वाचनमा राजेन्द्र थापा, भूपेन्द्र खड्का र वी. पाण्डेको फरक फरक गुटको कारण विवादित बनेको निर्वाचनलाई मंगलबार १५ घन्टाको लामो प्रयासपछि विवादलाई निर्वाचनमा परिणत गरिएको थियो । राजेन्द्र थापाको नेतृत्वमा संगीतकार सुरेश अधिकारी, महेश खड्का, वसन्त सापकोटा, लक्ष्मण शेष, शान्तिराम राई, गीतकार एकनारायण भण्डारी, ललिता कुँवर, योगेन्द्रमणि दाहाल, विजय शिवाकोटी, सञ्जय बरालले निर्वाचनमा सफलता हासिल गरेका थिए भने भूपेन्द्र खड्काको प्यानलले पराजित भोग्नुपरेको थियो । त्यस्तै वी. पाण्डेको प्यानलले आफ्नो उम्मेदवारी फिर्ता लिई पाण्डेलाई अध्यक्षमा अगाडि सारेको थियो । त्यसैगरी सदस्य पदमा गीतकार एवं संगीतकार जानकी पन्थ, गीतकार तुलसी बस्नेतले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा विजय हासिल गरेपछि अध्यक्ष बनेका राजेन्द्र थापाले भने– ‘जति विवाद गरे पनि अन्ततः अरुलाई नै भोट हाल्न भनेर आएकाहरुले मलाई नै भोट हालेर गएछन् ।’ थापाले आफ्नो प्यानलले सफलता प्राप्त गरेको बताएपछि उनका प्यानलका विजय प्राप्त सदस्यहरुले होहल्ला गरेका थिए । निर्वाचित सदस्यहरुलाई अबिर माला लगाउने र प्रमाणपत्र बाँड्ने कार्यक्रममा भने अग्रपंक्तिमा माला लगाउने र अबिर लगाउँदै प्रमाणपत्र लिएर निर्वाचित सदस्यहरु मञ्चमा फोटो खिचाउने बेलामा आफूले लगाएका माला र प्रमाणपत्र आफ्ना नजिकका सहयोगी मानिएकाहरुलाई लगाउने कार्यक्रम पनि गरिएको थियो । निर्वाचित सदस्यले त आफ्नो विजयलाई हर्षोल्लास मनाउनु स्वाभाविक थियो तर संगीतकार चेतन सापकोटा, गीतकार विपिन किरण, डा.कृष्णहरी बराल, शम्भुजित बास्कोटा, हरि लम्साललगायतले पनि अबिर, माला र प्रमाणपत्र बोकेर आफ्नो बायोडाटा बनाउने क्रममा मञ्चमा उभिन पुगेका थिए । अझ संगीतकार चेतन सापकोटा त होइ होइ भन्दै आफैंले जितेको जस्तै गरी उफ्रिएकै कारण पनि निर्वाचित सदस्यले उनलाई अबिर माला लगाउन बाध्य भएका हुन् जस्तो देखिन्थ्यो । जे होस् निर्वाचित नयाँ कार्यसमितिलाई म्यूजिक खबर डटकम सफलताको शुभकामना व्यक्त गर्दछ ।

 

 

source music khabar

सम्बन्धित समाचारहरु